नेशनल लाइफ इन्स्योरेन्सको शाखा कोहलपुरमा खुल्यो |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको उद्घाटन गरेका छन् ।
कम्पनीले नयाँ शाखा विस्तारसँगै ‘अमृतश्री’ नामक अग्रिम भुक्तानी तथा आजीवन बीमा लेखको पनि शुभारम्भ गरेको छ । कार्यक्रममा अध्यक्ष चापागाईंले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको भन्दै नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत पुगेको उल्लेख गरे ।
उनले देशको आर्थिक विकासका लागि छरिएर रहेको पुँजी एकीकृत गरी बीमामार्फत सहि ठाउँमा प्रयोग भइरहेको उल्लेख गरे । विगतमा बीमा भुक्तानीमा केही समस्या आएको भएपनि अब बीमा कम्पनीबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने उनले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकीकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताए । उनले बीमा समितिको निर्देशनअनुसार कम्पनीले चुक्ता पुँजी पुर्याइसकेको जानकारी पनि दिए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसमेत उपस्थति थिए ।