डायनिङ टेबल सेट गर्ने तरीका |
अचेल धेरैको घरमा डायनिङ टेबल हुन्छ । डायनिङ टेबललाई मिलाएर राखियो भने सुन्दरता झन् बढ्छ । डायनिङ टेबल मिलाएर राख्न धेरै कुरामा विचार पुर्याउनुपर्छ । डायनिङ टेबल सेट गर्ने केही तरीका यस्ता छन् ː
- डायनिङ टेबललाई सधैं सफा राख्नुहोस् । यदि तपाईंको घरमा पार्टी छ वा पाहुना आउन लागेका छन् भने डायनिङ टेबललाई पुछेर त्यसमा टेबल तथा नेप्किन राखेर सजाउनुपर्छ ।
- टेबल म्याट सफा र सजिलोसँग धुन मिल्ने हुनुपर्छ ।
- टेबलको बीच भागमा सजावटका लागि फूल वा शो पिस राख्नुपर्छ । यसलाई बीचमा राख्नाले अन्य सामान आफ्नो ठाउँमा आफै मिलेको देखिन्छ । यदि तपाईंलाई बीचमा सजावटको सामान राख्न मन छैन भने त्यो ठाउँमा नेप्किन राख्न सक्नुहुन्छ ।
- काँटा, चम्चो खानाका हिसाबले सजाएर राख्दा राम्रो हुन्छ । समात्ने भाग बाहिरतिर पारेर राख्नुपर्छ ।
- खाना खाने प्लेटलाई नेप्किनको माथि राख्नुपर्छ । खाना खानका लागि सेतो प्लेट राम्रो देखिन्छ । खानाले भरिएका भाँडा टेबलको बीचमा राख्नुपर्छ, जसले गर्दा सबैजनाले सजिलोसँग खाना निकाल्न सक्छन् ।
- डायनिङ टेबलमा आवश्यक वस्तुमात्र राख्नुहोस् । अन्य अनावश्यक वस्तुले खाना खान बसेका पाहुनालाई असहज महसूस गराउन सक्छ ।