तातोपानी नाका एक महिना भित्रै सञ्चालनमा आउने |
काठमाडौं । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द रहेको छ ।
बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह हिजो हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महीनापछि सरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
बाह्रबिसे नगरपालिकाअन्तर्गत गातिको बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ । सीमा पुलको काम आउँदो एक महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसैँ घण्टा मजदूर खटिएर काम भइरहेको बताइएको छ ।
राष्ट्रपति भण्डारीद्वारा तिब्बतमा नाका बारे चासो
बेइजिङमा आयोजना भएको दोस्रो अन्तरराष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी मंगलवार चीनको स्वशासित क्षेत्र तिब्बत आइपुगेकी थिइन्। । तिब्बतमा राष्ट्रपति भण्डारीसँग चिनियाँ कम्युनिस्ट पार्टी तथा तिब्बत स्वशासित क्षेत्रका सचिव उ यिङचेइले शिष्टाचार भेट गरेका थिए ।
भेटका क्रममा दुई देशबीच सीमा नाका खोल्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भेटका क्रममा तातोपानी नाका पुनːसञ्चालनको तयारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले दुई देशबीचको महत्त्वपूर्ण नाका तातोपानी नाका सञ्चालन गर्न लागेको भन्दै तिब्बत सरकारप्रति धन्यवाद दिएकी थिइन् । साथै राष्ट्रपति भण्डारीले अन्य नाका सञ्चालनको विषयमा कुरा उठाएकी थिइन् ।
नेपाल चिनियाँ राष्ट्रपति सि जिङपिङले अगाडि सारेको बीआरआईमा सहभागी भएको र दुई देशबीच पारवहान सन्धीको प्रोटोकलमा हस्ताक्षर भइसकेको अवस्थामा थप नाका सञ्चालन गर्नु आवश्यक भएको भण्डारीले बताएकी थिइन् ।
तातोपानी नाका मे महिनामै सञ्चालन गर्ने सहमति भएको छ । यसका साथसाथै अन्य नाका सञ्चालन गर्नुपर्ने आवश्यकताको विषयमा पनि छलफल भएको वार्तामा सहभागी मन्त्री ज्ञवालीले बताए ।
भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीच भएको पारवहान सम्झौताको प्रोटोकलमा हस्ताक्षरसँगै यसको कार्यान्वयनका लागि कोराला–लिची, हिल्सा–बुराङ र किमाथांका– छेन्ताङ नाका सञ्चालनको आवश्यकता रहेको बताएकी थिइन् ।
सचिव उले दुई राष्ट्रपतिबीचको भेटमा भएका सहमति कार्यान्वयनका लागि तिब्बत सरकार प्रतिवद्ध रहेको र तिब्बत र नेपालबीच रेल सम्पर्क जोड्ने गरी काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले उनले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिने बताएका थिए ।
दुई राष्ट्रपतिबीचको द्वीपक्षीय भेटवार्तापछि नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्ने विषयमा सहमति भएको थियो ।