रेल डिब्बा खरीद पक्रियाका लागि भारतीय टोली नेपाल आउँदै |
काठमाडौं । रेलको डिब्बा खरीद अर्डर लिन भारतीय टोली काठमाडौं आउने भएको छ । भारतीय सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडका प्रतिनिधी सहितको टोली रेलको डिब्बा अर्डर लिन अर्को साता काठमाडौं आउन लागेका हुन् ।
रेल विभागका अनुसार रेलको अर्डरका लागि नेपालले भारत सरकारले तोकिदिएको कोंकर्ण कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीले यही साता नेपाल आएर सम्झौंता गर्ने जवाफ पठाएपनि भारतमा निर्वाचन चलिरहेकाले अर्को साता आउन लागेका हुन् । मन्त्रीपरिषदले जीटुजी मार्फत दुई सेट रेल खरीद गरेर संचालन गर्ने निर्णय गरेपछि विभागले प्रकृया अघि बढाएको हो ।
विभागका अनुसार डिजेल इलेक्ट्रिक मल्टियुनिट (डीईएमयु) मा आधारित रेल खरीद गर्न लागिएको हो । दुईसेट डीईएमयु रेल ८४ करोड ६५ लाख ९४ हजार ६ सय (कर सहित) मा खरीद गर्न लागिएको छ ।
रेल खरीद गरेर भारतको जयनगरदेखि जनकपुर करिव ३५ किलोमिटर खण्डमा संचालन गर्न लागिएको छ । रेलमार्गको लिक विछ्याएर परीक्षण समेत गरिसकेको भएपनि डिब्बा अभावमा संचालनमा आउन सकेको छैन । सरकारले शुरुमा वेट लिजमा लिएर संचालन गर्ने योजना बनाएको थियो तर खरीद गरेर संचालन गर्दा फाईदा हुने भएपछि खरिद प्रकृया अघि बढाएको हो । नेपालको आफ्नै रेल भएपनि तत्कालका लागि भारतीय प्राविधिकहरु ल्याएर संचालन गरिने छ । नेपाली प्राविधिक आफै सक्षम भएपछि आफैले संचालन गर्नेछन् ।
एउटा डीईएमयु ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन । सेटमा मूख्य र सहायक गरि दुईवटा इन्जिन हुन्छन् । यस्तो रेल नघुमाई दुवैतिरबाट संचालन गर्न सकिन्छ । ब्रोड गेज र छोटो दुरीमा यस्तो मोडलको रेल संचालन गर्न उपयुक्त हुने भन्दै खरिद गर्न लागिएको हो । जेठबाट रेल संचालनमा ल्याउने योजना रहेको छ । तर कहिलेसम्म भारतीय कम्पनीले रेल उपलब्ध गराउछ भन्ने सम्झौतापछि जानकारी हुनेछ ।
भारतीय सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिवासम्मम रेलमार्ग निर्माण सम्झौता भएर काम अघि बढाईएको थियो । जयनगर–जनकपुर खण्डमा पहिले नै न्यारोगेज संचालनमा रहेको थियो । उक्त खण्डमा कुनै समस्या नभएकाले ब्रोडगेज रेलको लिक विछ्याईएको छ । जनकपुर बर्दिवास खण्डमा मुआब्जा लगाएतका विवादका कारण काम हुन सकेको छैन् ।