असार १६ गतेभित्र सरकारलाई कर तिर्न टुटल लाई पत्र |
काठमाडौं । आन्तरिक राजस्व कार्यालय ललितपुरले राइड शेयरिङ सेवा प्रदायक कम्पनी टुटल लाई कर निर्धारणको पत्र पठाएको छ । कर कार्यालयले केही दिन अघि कर निर्धारणसहित पठाएको पत्र टुटलले आइतबार बुझेको हो ।
कर कार्यालयले ३ करोड ३९ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र आयकर तिर्नुपर्ने ठहर गर्दै चार दिन अघि पत्र पठाएको थियो । कर कार्यालयको पत्र आइतबार टुटलले बुझेपछि अब उसले ढिलोमा असार १६ गतेभित्र कर बुझाउनुपर्छ ।
यसैगरी आन्तरिक राजस्व कार्यालयले अर्को राइड शेयरिङ सेवा प्रदायक पठाओमाथि करिब ३० लाख रुपैयाँ कर निर्धारणको तयारी गरेको स्रोतको भनाई छ । टुटलले सेवाग्राहीबाट मूल्य अभिवृद्धि कर असुली गरी सरकारलाई नबुझाएको विषय बाहिर आएपछि करले दुवै कम्पनीमाथि छानबिन थालेको थियो । पठाओमाथि मूल्य अभिवृद्धि कर र टुटलमाथि आयकर र मूल्य अभिवृद्धि कर दुवै निर्धारण भएको हो ।