एडीबी बैठकमा भाग लिन फिजी गए अर्थमन्त्री खतिवडा, संघियता कार्यान्वयनलाई स्रोत जुटाउन पहल गर्ने |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा हिजो मंगलवार फिजी गएका छन् । उनी एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन त्यस तर्फ प्रश्थान गरेका हुन् ।
आगामी मे २ देखि ५ तारिखसम्म फिजीको नादीमा आयोजना हुने बैठकमा भाग लिन अर्थमन्त्री खतिवडा हिजो बेलुका ९ बजे फिजी प्रश्थान गरेका हुन् । मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने कार्यक्रम छ ।
बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थाहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनले दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन ।
यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम रहेको छ । उनले बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुदै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने छन् । उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिनेछन् ।
बैठकमा सहभागी हुन अर्थमन्त्री सहित अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको टोली मंगलबार बेलुका ९ बजे फिजी प्रश्थान गर्नेछन् । अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ ।