एनटीसीको प्रिपेडमा पनि अन्तरराष्ट्रिय रोमिङ सेवा |
काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा रोमिङ सेवा शुरु गरेको छ । टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तरराष्ट्रिय रोमिङ सेवा शुरु गरेको हो ।
निकट भविष्यमा कम्पनीले मध्यपूर्व र दक्षिण कोरियामा पनि यो सेवा शुरु गर्ने योजना बनाएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । उनका अनुसार मध्यपूर्व क्षेत्रमा पर्ने मलेसिया, कतार, युएइ (युनाइटेड अरब इमिरेट्स) र दक्षिण कोरिया लगायतका मुलुकमा सेवा शुरु हुनेछ ।
अब टेलिकमको प्रिपेड सिममार्फत चीन र भारतबाट नेपालमा कल गर्न र एसएमएस सेवा लिन सकिनेछ । चीनको स्थानीय नम्बरमा कल गर्नका लागि ५० रुपैयाँ र चीनबाट नेपालमा कल गर्नका लागि ९० रुपैयाँ शूल्क लाग्ने टेलिकमले जानकारी दिएको छ । कम्पनीका अनुसार फोन रोमिङमा राख्दा नेपालबाट आएको कल उठाउँदा ५३ रुपैयाँ शूल्क लाग्नेछ । यसैगरी रोमिङ सेवा अन्तर्गत भारतको स्थानीय नम्बर र नेपालमा कल गर्दा प्रति मिनेट ३० रुपैयाँ शूल्क राखिएको र नेपालबाट आएको कल उठाउँदा १४ रुपैयाँ शूल्क लाग्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसैगरी एसएमएसको हकमा चीनबाट नेपालमा एसएमएस पठाउँदा ५४ रुपैयाँ शुल्क राखिएको छ भने भारतबाट नेपाल एसएमएस पठाउँदा २४ रुपैयाँ शूल्क राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चीन र भारतबाट नेपाल बाहेकका मुलुकमा कल गर्दा प्रतिमिनेट तीन सय ९७ रुपैयाँ शूल्क राखिएको छ । कम्पनीका अनुसार सेवाग्राहीले ८१४१५३ डायल गरी प्रिपेड सिममार्फत मार्फत अन्तरराष्ट्रिय रोमिङ सेवा लिन सक्ने छन् ।