‘चिनियाँ व्यवसायीसँग मिलेर लगानी गर्न नेपाली उद्योगी व्यवसायी तयार’ |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा सहभागी रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
राष्ट्रपतिको उपस्थितिमा आयोजना भएको सो कार्यक्रममा सम्बोधनका क्रममा उपाध्यक्ष ढकालले सरकारले लगानीमैत्री नीति तथा कानुन परिमार्जनसँंगै लगानीको वातावरण बन्दै गएको बताए । उनले नेपालमा यतिखेर लगानीका लागि उत्कृष्ट समय रहेको समेत दाबी गरेका छन् ।
महासंघले जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ उद्यमी व्यवसायीको समेत उपस्थिति रहेको सो कार्यक्रममा उपाध्यक्ष ढकालले नेपालमा स्थिर सरकारसँगै लगानीको वातावरण बन्दै गएकाले नेपालमा लगानीका लागि अन्तरराष्ट्रिय लगानीकर्ताको आकर्षण समेत बढ्दै गएको बताए ।
लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूको उत्साहजनक प्रतिबद्धता आएको र यसबाट निजी क्षेत्रका उद्यमी व्यावसायीहरू पनि उत्साहित भएको बताउँदै नेपालका उद्योगी व्यवसायीहरू चिनियाँ व्यवसायीहरूसँग मिलेर नेपालमा संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको समेत बताए ।
उपाध्यक्ष ढकालले नेपालमा पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सको अंग बन्न पाउँदा नेपाललाई खुशी लागेको बताउँदै यसबाट दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको उपाध्यक्ष ढकालले बताए ।