डिजिटल कारोबारमा आकर्षण : साउनमा मात्रै १२७ खर्ब बढीको भुक्तानी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै विभिन्न विद्युतीय भुक्तानी प्रणालीहरुबाट १२७ खर्ब बढीको भुक्तानी भएको देखिन्छ । यो गत आर्थिक बर्षको साउनको तुलनामा ३ गुणा बढी अर्थात ८३ खर्ब ७० अर्बले बढी हो । गत आवको साउनभरी विभिन्न माध्यमबाट ४३ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको थियो । साउनमा भएको कारोबार गत असार महिनाको तुलनामा भने करिव ३९ खर्ब रुपैयाँले बढी हो । गत असारमा विद्युतीय भुक्तानी प्रणालीहरुबाट ८८ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
चालु आवको साउन महिनामा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीबाट मात्रै १०८ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यो गत आर्थिक बर्षको साउनको तुलनामा ४ गुणा अर्थात ७९ खर्ब ३४ अर्ब रुपैयाँले बढी हो । यस्तै, साउनमै इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी) मार्फत ५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । त्यस्तै, आइपीएसमार्फत १ खर्ब ७४ अर्ब, कनेक्ट आइपीएसमार्फत ५ खर्ब २५ अर्ब, मोबाईल बैंकिङमार्फत ३ खर्ब ७३ अर्ब, वालेटमार्फत ४३ अर्ब, क्युआरमार्फत ६१ अर्ब र डेबिट कार्डमार्फत ९१ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको साउनको तुलनामा कनेक्ट आइपीएसमार्फत हुने भुक्तानी १ खर्ब ४७ अर्ब रुपैयाँले बढेको छ । मोबाईल बैंकिङमार्फत हुने कारेबार १ खर्ब ३४ अर्ब, वालेटमार्फतको कारोबार २१ अर्ब, क्युआर कारोबार ३२ अर्ब, इसीसी कारोबार ३१ अर्ब तथा आइपीएस कारोबार ४२ अर्ब रुपैयाँले बढेको छ ।
गत साउनमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा ३ लाख बढीले थपिएको छ । साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको छ । असारमसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि संख्या बढेको छ। असारको तुलनामा साउनमा वालेट प्रयोगकर्ताको संख्या ७ लाखले बढेको हो । असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ रहेकोमा साउनमा बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ पुगेको छ । त्यस्तै, गत वर्षको साउनमा वालेट प्रयोगकर्ताको संख्या १ करोड ९५ लाख ४० हजार ३०५ रहेकोमा यो साउनमा २ करोड ४२ लाख ५७ हजार ६५६ पुगेको छ ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ४३ हजारले बढेको छ । हाल देशमा १९ लाख ६२ हजार ८२७ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन् । साउनमा मोबाइल बैंकिङबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। वालेट प्रयोग गरी ४३ अर्ब रुपैयाँको भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।
यता, नगद बोक्नुपर्ने झन्झट हट्ने भएका कारण सुरक्षाका दृष्टीकोणले पनि डिजिटल भुक्तानीप्रति आकर्षण बढ्दै गएको पाइन्छ । केन्द्रीय बैंकका अनुसार विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको हो ।