सेञ्चुरी बैंकको लाभांश पारित, तीन सञ्चालन निर्विरोध |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ । बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
आठौं वार्षिक साधारण सभाबाट २ प्रतिशत बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । आव २०७५∕७६ को पुस मसान्तसम्म बैंकले कुल ६४ अर्ब १२ करोड निक्षेप संकलन गरि ५९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । यसबाट बैंकले ७४ करोड २ लाख सञ्चालन मुनाफा तथा ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।