बाढी पहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने सर्वदलीय बैठककाे निर्णय
काठमाडौं । बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने सर्वदलीय बैठकले निर्णय गरेको छ । आईतबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाेलाएकाे सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावितहरुको तत्काल उद्धार गर्ने निर्णय गरेकाे हाे ।
उक्त बैठकले बाढी पीडितहरूलाई उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ।
यससँगै, शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको व्यवस्था गर्न आवश्यक प्रकृया अगाडि बढाउने भएकाे छ ।
यसका साथै, बैठकले जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा राजमार्गहरुमा फसेका यात्रुहरुलाई गन्तव्यमा पुर्याउने समेत निर्णय गरेको छ ।
राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ । यसका साथै, बैठकले अत्यावश्यक दैनिक उपभोग्यका सामाग्रीहरू जस्तै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत सुपथ मूल्यमा सजिलैसँग उपलब्ध गराउनका लागि व्यवस्था मिलाउने पनि निर्णय गरेकाे छ ।
ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आपुर्ति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।
त्यसैगरी, क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरेर पुनर्निर्माणका गर्न आवश्यक प्रकृया अघि बढाउने पनि साे बैठकले निर्णय गरेको छ ।
साथै, बैठकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, संघसंस्था र आम नागरिकलाई अपिल गर्ने निर्णय पनि गरिएको छ ।
हालसम्म बाढी र पहिरोका कारण १४८ जनाले ज्यान गुमाएका छन् । यसैगरी, ५५ जना बेपत्ता भइरहेका छन् ।