आज पनि निरन्तर झरी, १०६ केन्द्रमा वर्षाले सतर्कताको तह नाघ्यो
काठमाडौं । आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।
केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।
मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ ।
सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ ।
अर्चलेपछि धेरै मकवानपुरको दामनमा ३३० मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ ।
चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भन्ने गरिन्छ । १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ ।
नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।
काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।