एक महिनामा नै भित्रियो १ खर्ब ३७ अर्बकाे रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा झन्डै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।
गत वर्ष साउनमा रेमिट्यान्स अघिल्लो वर्षको साउनमा भन्दा २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स रकम १ अर्ब २ करोड पुगेको छ । यो अघिल्लो वर्ष ८७ करोड ९८ लाख रुपैयाँ मात्रै थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।