१० करोड पूँजी पुर्याउने ब्रोकरलाई स्टक डिलरको काम दिनु पर्ने नेप्सेको प्रस्ताव |
काठमाडौं । ब्रोकर कम्पनीलाई पनि स्टक डिलरको काम गर्न दिने प्रस्ताव अघि बढाइएको छ । ब्रोकर कम्पनीको कार्यक्षेत्र बिस्तारका लागि स्टक डिलर लगायतका काम गर्न दिने प्रस्ताव नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गरेको हो । ब्रोकरसहित अरुलाई पनि डिलरको काम दिइनेछ ।
हाल बजारको आकार बढ्दै गएकाले संस्थागत तथा ठूला कम्पनीको आवश्यकता देखिएको नेप्सेले गरेको प्रस्तावमा उल्लेख छ । उसले ब्रोकर कम्पनीलाई समेत स्टक डिलरको काम गर्न दिए कार्यक्षेत्रसमेत बिस्तार हुने ठहर गरेको छ ।
ब्रोकर कम्पनीले स्टक डिलरको रुपमा काम गर्न चुक्ता पूँजी बढाउनु पर्छ । स्टक डिलरको काम गर्न ब्रोकर लगायतका कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताब गरिएको छ ।
अनुमति तथा भौतिक पुर्बाधार लगायतका बिषयमा भने धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को अनुमतिपत्र सम्बन्धी व्यवस्था अनुरुप गर्न सकिने प्रस्ताव गरिएको छ । नियमावलीमा धितोपत्र व्यापारीको काम गर्ने कम्पनीले पुर्याउनु पर्ने सबै प्रकृया समेटिएको छ ।
धितोपत्र बोर्डले गत मंसिरमा नेप्सेलाई स्टक डिलर, बैकलाई ब्रोकर लाइसेन्स, प्रदेशिक स्तरका ब्रोकर कम्पनीलाई नयाँ लाइसेन्स र सर्किट ब्रेकरको बिषयमा अध्यन गरि प्रकृया अघि बढाउन निर्देशन दिएको थियो ।
निर्देशनपछि नेप्सेले ती बिषयमा अध्ययन गर्न एक समिति गठन गरेको थियो। समितिले नेप्सेलाई ब्रोकर लगायतका कम्पनीलाई स्टक डिलरको कम गर्न दिनु पर्ने सुझाब दिएको थियो । त्यही सुझावलाई नेप्सेको सञ्चालक समितिले कार्यान्वनमा लैजान धितोपत्र बोर्डमा पेश गरेको छ ।
नेप्सेले गरेको प्रस्तालाई बोर्डले स्विकृति दिएमा थप प्रकृया अघि बढाउने नेप्सेको योजना छ । नेप्सेको प्रस्ताब अनुसार, बैकका सहायक कम्पनी, ब्रोकर कम्पनी, नागरिक लगानी कोष लगायतका कम्पनीले स्टक डिलरको काम गर्ने बाटो खुल्ने छ ।
पछिल्लो समय नागरिक लगानी कोषले नीति अभावकै कारण कोष नाममा शेयर खरिद बिक्री गरिरहेको छ । कोषले स्टक डिलरको कामको पूर्व अभ्यासका लागि दोस्रो बजारबाट शेयर खरिद गर्न थालेको हो । स्टक डिलरको विधि तय भएलगत्तै कोष लगायतका कम्पनीलाई औपचारिक रूपमै डिलरको काम गर्न बाटो खुल्ने छ ।