नेपालद्वारा उत्थानशील र समावेशी सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना
काठमाडौं । नेपाल सरकार, राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) र विश्व बैंकले आपसी साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरेका छन् ।
बिहीवार र शुक्रवार गरि दुईदिन सम्म चल्ने भेलाको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् । ‘उत्थानशील तथा समावेशी सामाजिक संरक्षण, मानव पूँजी निर्माणमा लगानी’ शीर्षकको सम्मेलनले गरिबी न्यूनीकरण गर्न, उत्थानशीलका निर्माण गर्न र भावी पुस्ताको मानव पुँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा समालोचनात्मक संवादलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालले आफ्नो मानव पुँजी निर्माणमा लगानी बढाउदै गरेको महत्त्वपूर्ण समयमा यो सम्मेलनको आयोजना भएकोले हालको आवश्यकता तथा बालबालिका र भावी पुस्ताको आवश्यकता पूरा गर्न थप समावेशी सामाजिक संरक्षण प्रणाली निर्माण गर्नू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपाल सरकारले सोर्हौं योजनामार्फत मानव पुँजी निर्माणलाई उच्च प्राथमिकता दिएको र यसका लागि बालबालिकामा लगानी बढाउनु आवश्यक रहेको बताएका थिए । उनले देश विकासको सन्दर्भमा मानव विकास साधन र साध्य दुबै हुने तथ्यलाई उजागर गर्नु भयो र सामाजिक संरक्षणले मानव पुँजी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विषयलाई पनि जोड दिए ।
दक्षिण एशियाका युनिसेफ क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले यस सम्मेलन मार्फत नेपालका बालबालिका र युवाहरू प्रतिको प्रतिबद्धतालाई मात्र नभइ आफैंलाई चुनौती दिइरहेको बताए ।