मेरो शेयरमा समस्याː साञ्जेन र रसुवागढीको आईपीओ बिहीबारसम्म भर्न पाइने |
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबारसम्म विक्री खुला रहने भएको छ । बुधबारसम्म मात्र आवेदन दिने समय भएपनि मेरो शेयरको प्राविधिक समस्याका कारण नेपाल धितोपत्र बोर्डको निर्देशनमा दुवै कम्पनीको आईपीओ विक्री अवधि थप हुने भएको हो ।
सोही गुनासोलाई ध्यानमा राखी दुई दिनको अवधि थप गर्न विक्री प्रबन्धक र सम्बन्धीत कम्पनीलाई निर्देशन दिएको बोर्डका प्रबक्ता निरज गिरिले जानकारी दिए ।
वैशाख ६ गतेदेखि विक्रीमा आएको दुवै कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । मंगलबारसम्ममा साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा १ करोड २१ लख कित्तको लागि आवेदन परेको छ ।
विक्री प्रबन्धक नागरिक लगानीकोषले दिएको जानकारी अनुसार २ लाख ५३ हजार जना आवेदकले १ करोड २१ लख कित्ताको लागि आवेदन गरेका छन् । साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओ मध्य २ लाख १९ हजार कित्ता कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर वाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
सोही दिनदेखि विक्रीमा आएको रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओमा १ करोड ४७ लाख ११ हजार १३० कित्ताको आवेदन परेको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार २ लाख ५० हजार ३७१ जना आवेदकबाट उक्त माग परेको हो । रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्तामध्य ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारीहरु र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर वाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।