लक्ष्मी बैंकले पनि ऋणपत्र जारी गर्दै, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त |
काठमाडौं । लक्ष्मी बैंकले पनि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले यो ऋणपत्रमा १० प्रतिशत ब्याज दिने छ । ऋणपत्र निष्काशनका लागि बैंकले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले कुल २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने छ । बैंकले यसअघि ४० करोडको ऋणपत्र जारी गरेको थियो । यो ऋणपत्र आगामी माघमा परिपक्व हुँदैछ ।
लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११८ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा पनि आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।