इञ्जिनियरिङ एसोसिएसन निर्वाचनः उत्साही मुडमा सुवासचन्द्र बराल समूह
काठमाडौ । यही शुक्रबार हुने नेपाल इञ्जिनियरिङ एसोसिएसन ३३ औं कार्यकारिणी समिति निर्वाचनको चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुग्दा सुवासचन्द्र बराल समूह निकै उत्साही बनेको छ ।
झण्डै १८ हजार इञ्जिनियर तथा आर्किटेक्टले सातै प्रदेशमा मतदान गरेर नेता छान्ने दौडमा उम्मेदवारहरु अहिले भेटघाटमा व्यस्त छन् ।
यस्तोमा सबैभन्दा धेरै मतदाता रहेको नेपाल लोकतान्त्रिक पक्षधर इञ्जिनियरहरुको संस्था सिडिइएनका तर्फबाट आधिकारिक उम्मेदवार बनेका अध्यक्ष उम्मेदवार बरालले व्यावसायिक क्षेत्रका अन्य मतदाताको समेत मन जित्न सफलता पाएका छन् ।
ठूलो संगठन र व्यावसायिक क्षेत्रबाट समेत साथ पाएकाले जित्नेमा आशावादी बनेको बराल बताउँछन् । मेरो लामो अनुभव र विगतको कामलाई मतदाताले सकारात्मक लिनुभएको छ, उनले भने, इञ्जिनियरहरुलाई राष्ट्र निर्माणमा लगाउने अनि प्रशासनिक कर्मचारीसरह अवसर दिने एजेण्डामा पनि सकारात्मक समर्थन मिलेको छ ।
गैरआवासीय नेपालीहरुसँग मिलेर इञ्जिनियरहरुको सहभागीतामा विभिन्न मध्यम खालका जलविद्युत आयोजना निर्माणमा सक्रिय बराल आफू नेतृत्वमा आएमा इञ्जिनियरहरुलाई उद्यमी बनाउन अभियानै सञ्चालन गराउने बताउँछन् ।
दुई वर्ष संस्थालाई पूर्ण समय दिएर काम गर्ने बताएका उनले विगतमा भूकम्प पुननिर्माण तथा अन्य संस्थागत जिम्मेवारीमा पाएको सफलतालाई पनि मतदाताले विश्वासका रुपमा लिएको बरालले बताए ।
बुधबारसम्म अन्तिम प्रचार चलिरहँदा बराल आफू मात्र नभएर समूह नै विजयी हुने विश्वासका साथ युद्धमा होमिएका छन् ।