एकै पटक धेरै कम्पनीको प्राथमिक शेयर निष्काशन भए पछि सबै शेयर विक्री भएनन् | निष्काशन मिति नजुधाउने व्यवस्था गरिदै
काठमाडौँ । एकै पटक धेरै कम्पनीका शेयर निष्कासन हुँदा लगानीकर्तानै अलमलमा परेको देखिएको छ । अब शेयर निष्कासन समयलाई व्यवस्थित गरिने भएको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले शेयर निष्कासन समयलाई व्यवस्थित गर्न लागेको हो । प्रवक्ता सुरेश न्यौपानेले एकै समयमा धेरै वटा कम्पनीको शेयर निष्कासन हुँदा लगानीकर्ताहरूले शेयरमा आवेदन दिँदा अलमलमा परेको गुनासो आएको बताउँदै त्यही भएर समयलाई व्यवस्थित गर्न लागेका छौं ।
यसअघि विक्री प्रबन्धकले शेयर निष्कासनको मिति तय गरेपछि सीडीएससीलाई जानकारी दिन्थे । अब विक्री प्रबन्धकले सीडीएससीसँग समय लिएपछि मात्रै मिति तय गर्नु पर्ने नीति बनाउन लागिएको हो । त्यसपछि सीडीएससीले एकै पटक धेरै कम्पनीका शेयर नजुध्ने गरी निष्कासनको समय मिलाउने प्रवक्ता न्यौपानेले बताए ।
हाल आधा दर्जन कम्पनीका प्राथमिक शेयर खुला छन् । जसमा जलविद्युत कम्पनीका तीन, सामूहिक लगानी कोष, ऋणपत्र र लघुबित्तको एकरएक शेयर खुला छ । लगानीकर्ताले हाल खुला रहेको तीन जलविद्युत कम्पनीमा युनियन हाइड्रोको शेयर निष्कासन भएको एक महिना पुग्नै लाग्दा पनि जम्मा ९७ प्रतिशत मात्रै विक्री भएको छ ।
जबकि गत बिहीबारदेखि निष्कासन भएको सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबारसम्म सान्जेनको ७४ प्रतिशत शेयर विक्री भैसकेको छ भने रसुवागढीमा ४७ प्रतिशतले आवेदन दिएका छन्।् । युनियनको शेयरमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिन्छ भने साञ्जेन र रसुवागढीको शेयरमा छिटोमा वैशाख १० गते र ढिलोमा जेठ ५ सम्म आवेदन गर्न सकिन्छ ।
एकै पटक निष्कासन जुधेका कारण सामूहिक लगानी कोषमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । आइतबारसम्म नविल इन्भेष्टमेन्ट बैकिङले निष्कासन गरेको नविल ब्यालेन्स फण्ड २ मा ११ हजार २७६ आवेदकले एक करोड २९ लाख आठ हजार २३० इकाइका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणको लागि १२ करोड इकाई निष्कासन गरेको छ । फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणको छिटोको वैशाख ९ गतेसम्म र त्यस अबधिमा विक्री नभए जेठ तीन गतेसम्म बिक्री खुल्ला गर्ने छ । तर आइतबारदेखि निष्कासन भएको नेपाल एग्रोको शेयर एक घण्टामै विक्री भयो । यता सनराइज बैकले निष्कासन गरेको ऋणपत्र अझै विक्री भएको छैन ।