गुराँस लघुवित्तले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले यहि बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । धनकुटामा केन्द्रीय कार्यालय रहेको कम्पनीले आईपीओ जारी गर्न आइतबार आह्वानपत्र प्रकाशन गरेको हो ।
लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कूल निष्काशित २ लाख ५० हजार कित्ता आईपीओमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई १२ हजार ५०० कित्ता छुट्टाइएको छ । दुई लाख ३३ हजार। ६२५ कित्ता शेयरका लागि सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।
लघुवित्तले निष्काशन गर्ने आईपीओमा न्यूनतम १० कित्ता का लागि एक हजार रुपैयाँदेखि अधिकतम ५०० कित्ताका लागि ५० हजार रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओ निष्काशन बैशाख २० गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ १४ गतेसम्म खुला रहनेछ।
गुराँसले धितोपत्र बोर्ड चैत २६ गते जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो । पुस १० गते कम्पनीले बोर्डमा अनुमति मागेको थियो ।
लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।
लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।