दलहरुकाे बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वत: हुने आन्दाेलनकाे अग्रपंक्तिमा रास्वपा रहने: रास्वपा सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् । रास्वपा कोशीको विस्तारित बैठकलाई सुनसरीको इटहरीमा सम्बोधन गर्दै सभापति लामिछानेले दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः हुने आन्दोलनको अग्रपंक्तिमा रास्वपा रहने समेत बताएका हुन ।
पुराना दलहरूको बेथिति बढार्न नागरिकको विश्वास रास्वपाप्रति बढिरहेको भन्दै सभापति लामिछानेले त्यसको आधिकारिक पुष्टि २०८४ सालको संसदीय निर्वाचनले गर्ने बताए । रास्वपाप्रति विश्वास र अपेक्षा भएअनुसार प्रश्नसमेत रहेको स्वीकार गर्दै सभापति लामिछानेले सबै प्रश्नको जवाफ कामले नै पनि बताए ।
’रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन्। अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन्। यो विरोधाभाष भयो’ लामिछानेले भने ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति डीपी अर्यालले इमान्दारपूर्वक संगठन बिस्तारमा लाग्दै जनजीविकाका मुद्दासिहत स्थानीय तहको भ्रष्टाचारबारे आवाज उठाउन सदस्यहरुलाई आग्रह गरे ।