कृषि विकास बैंकले शेयरधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश |
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने नगद लाभांश शेयरधनीहरुकै बैंक खातामा वितरण गर्न थालेको छ । बैंकले साधारण सभाका लागि बुकक्लोज गरेको मिति (फागुन १५ गते) सम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको बैंक खातामै लाभांश पठाउन थालेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको थियो । चैत्र १५ गते सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले लाभांश अनुमोदन गरेको थियो ।
सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गराएपछि बैंकले क्रमश नगद लाभांश जम्मा गर्दै जानेछ । ६ प्रतिशत बोनस शेयर भने सीडीएस एण्ड क्लियरिङ्ग र नेप्सेमा सूचीकरण पश्चात शेयरधनीको डिम्याट खातामा वितरण गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले कागजी शेयर प्रमाणपत्र भएका आफ्ना शेयरधनीलाई शेयर अभौतिकिकरण (डिम्याट) गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन यस अघिनै आग्रह गरिसकेको छ । बैंकले वितरण गर्ने लाभांश शेयरधनीको खातामा वितरण गर्ने भएकाले शेयर डिम्याट र बैंक खाता अद्यावधिक गराउन सूचित गरेको हो ।
बैंकले हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकिकरण गराउन पनि आग्रह गरिसकेको छ ।
बैंकले सर्वसाधारण शेयरधनीलाई ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब एक करोड रूपैयाँ पुगेको छ ।