सुरक्षित गर्भपतन सेवाबाट उत्पादन भएको फोहर शौचालयबाट बगाएको भेटियो : प्रयोगशाला र भान्छा एउटै कोठामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि त्रिपुरेश्वरस्थित आँखा अस्पताल र थापाथलीस्थित काठमाडौँ पोलिक्लिनिक एण्ड प्याथोलोजी ल्यावको फोहर उठाउन रोक लगाएको छ । स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानीकारक फोहर निर्मलीकरण नभएको, फोहर व्यवस्थापनमा असल अबलम्बन नगरिएकाकारण संकलनमा रोक लगाउनु परेको वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले जानकारी दिनुभयो ।
नेपाल आँखा अस्पतालमा वर्गीकरण गर्ने प्रणाली थालिएको देखियो । तर, वर्गीकरण गरिएको फोहर छुट्टै व्यवस्थापन गर्ने प्रणाली भेटिएन । संक्रमित फोहरलाई सामान्य बनाउने प्रविधि पनि छैन । उपचारका लागि प्रयोग हुने उपकरण तथा औजारलाई निर्मलीकरण गर्न राखिएको अटोक्लेभ र फोहर संकलन गर्ने बाल्टिनहरु एकै ठाउँमा राखिएको पाइयो । उहाँले भन्नुभयो, फोहर निर्मलीकरण नभएसम्म संकलन गर्ने निजी क्षेत्रलाई नउठाउन निर्देशन छ ।’
अस्पतालहरुभन्दा जोखिम त पोलिक्लिनिक र जनस्वास्थ्य प्रयोगशालामा भेटिन थालेका छन् । वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्नुहुन्छ, ‘थापाथलीमा भएको काठमाडौँ पोलिक्लिनिक एण्ड प्याथोलोजी ल्याबबाट उत्पादन भएको फोहर व्यवस्थापन गर्न व्यवस्थापक अञ्जानजस्तै देखिए । कर्मचारी पनि हानीकारक फोहर व्यवस्थापनमा गलत अभ्यास गरिरहेका थिए । प्याथोलोजी ल्याव र कर्मचारीका लागि खाजा बनाउने कोठा एउटै भेटियो ।’
यो अवस्थामा बारेमा सञ्चालकले, तीजको दर खान ल्याबमा ग्याँस सिलिण्डर र चुलो ल्याएको बताए । कर्मचारीले भने, ‘खाना मात्र यहाँ पकाउने हो । खाने त बाहिर ल्याएर हो ।’ यसरी कुरा बाझिए पनि गलत भन्ने ठहर गर्न कठिन भएन । यसलाई पुष्टि गर्न चियामा हाल्न प्रयोग गरिने चिनी, चियापत्ती र अरु पसलाका बट्टा सँगै थिए ।
ल्याबका सञ्चालकले सडक वारिपारि हुने गरी सुरक्षित गर्भपतन सेवा पनि सञ्चालन गरेका छन् । गर्भपतन गर्दा उत्पादन हुने फोहर कसरी व्यवस्थापन हुन्छ? प्रश्नको जवाफमा सञ्चालकले निसंकोच भने, ‘शौचालयमा हालेर बगाइदिन्छौँ ।’
यस केन्द्रमा सुरक्षित गर्भपतनका लागि मासिक १५ जनासम्म आउनुहुन्छ । सञ्चालकका अनुसार प्रति एक व्यक्ति गर्भपतन गराउँदा कम्तीमा आधा किलोग्राम जोखिमपूर्ण फोहर उत्पादन हुन्छ । अहिलेसम्म यहाँबाट उत्पादन भएको सबै फोहर शौचालयबाट बगाइएको छ । सञ्चालकले थप्दै भने, ‘कहिलेकाहीँ जाम हुन्छ । रसायन हालेर खोल्छौँ ।’
यसअघि कमलपोखरीमा रहेको हिमाल अस्पताल र चारखालमा रहेको सिद्ध पोली क्लिनिकको अनुगमन गरिएको थियो । हिमाल अस्पतालले गएको बर्षमा दिएका सुझावमध्ये धेरै कार्यान्वयनमा ल्याएको छ । सुधारोन्मुख छ । सिद्धि पोलीक्लिनिकले अटोक्लेभ मेसिन राखेर जोखिमपूर्ण फोहरलाई निर्मलीकरण अभ्यास गरेको छ ।