अबको दुई सातापछि शेयर कारोबारको भुक्तानी घरबाटै, बैंक धाउनु नपर्ने |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मध्यस्थतामा सम्पुर्ण ब्रोकरहरु नेपाल क्लियरीङ हाउसको राफसाफ प्रणालीमा जोडिएका छन् । अनलाइन प्रणालीबाट शेयर कारोबारका लागि ५० वटै ब्रोकर कार्यालय नेपाल क्लियरिङ हाउससँग जोडिएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।
सम्पुर्ण ब्रोकर कार्यालयहरु प्रणालीमा जोडिएसँगै अबको दुई हप्तामा पैसाको राफसाफ अनलाइन प्रणालीबाट हुने क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेसमानसिंह प्रधानले जानकारी दिए । नेपाल क्लियरीङ हाउस, वाइको र नेप्सेले प्राविधिक कार्य सकेसँगै दोस्रो बजारका भएका सम्पुर्ण कारोबारको रकम लगानीकर्ताको बैंक खातामा स्वत जाने उनले बताए ।
क्लियरिङ हाउसले हाल ग्राहकको वाइ अर्डर अन्तर्गतको भुक्तानी प्रणालीका विषयमा काम गरिरहेको छ । यस प्रणाली अन्तर्गत लगानीकर्ताले शेयर खरिद गर्दा सम्बन्धित बैंकमा पैसा छ कि छैन थाहा पाउन सकिन्छ । यसका लागि नेप्सेका प्राविधिक र वाइकोका प्रभाविधिकहरुले प्रणाली विकास गर्ने तथा परिक्षण गर्ने काम गरिरहेका छन्।् । यो काम लगभग दुई हप्ता भित्रमा सकिने प्रधानले जानकारी दिए । भोलिका दिनमा कारोबार शुरु हुँदा समस्या नआओस भनेर चनाखो भएको उनले बताए ।
यस प्रणालीको विकास भएसँगै लगानीकर्ताले विक्री गरेको शेयरको पैसा आफ्नो खातामा आउनेछ । शेयर खरिद तथा विक्री गर्दा प्राप्त हुने पैसा र भुक्तानी हुनु पर्ने पैसाको राफसाफ अनलाइन प्रणालीबाट भएसँगै अहिलेको प्रणाली पुर्ण हुनेछ ।
नेपाल क्लियरिङ हाउस मार्फत राफसाफ गर्दा कारोबार रकम हेरेर लगानीकर्ताहरुले प्रति कारोबार न्युनतम साढे दुई रुपैयाँदेखि १५ रुपैयाँसम्म भुक्तानी गर्नु पर्ने सहमति भएको प्रधानले जानकारी दिए ।
प्रणालीमा बैंकको इन्ट्रिगेसनसँगै लगानीकर्ताको सहभागिता ह्वात्तै बढ्न सक्ने रानाभाटले बताए । यस्तो व्यवस्था पुर्ण भएसँगै युजरनेम र पासवर्ड मार्फत लगानीकर्ताले घरमै बसेर शेयर खरिद विक्री गर्न सक्ने छन् । उनीहरु शेयरको लागि ब्रोकर कार्यालय र पैसाको लागि बैंकमा पटक पटक धाउनु पर्दैन ।