भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिनबाट उपचार सेवाको सूरुवात
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार मेसिनको उद्घाटन गर्दे सेवा सञ्चालनको सूरुवात गरे । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत स्वास्थ्य सेवा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताउँदै यस तर्फ आफुले ध्यान दिएको उल्लेख गरे ।
मन्त्री पौडेलले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न बारेमा मन्त्रालयले अध्ययान गरिरहेको वताए । १६ लाख घरपरिवार हाल स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै उनले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्नसके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभरुपमा सेवा प्रदान गर्न सकिने बताए ।
प्रमुख पौडेलले स्वास्थ्य उपचार अभावकै कारण लाखौं जनता गरिबीको रेखामुनि पुगेको हुँदा क्यान्सर जस्ता नसर्ने रोगबारे नागरिकलाई चेतना जगाउन आवश्यक भएको बताए । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एंव सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताए ।
भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उनले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न आवश्यक भएको बताए ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले क्यान्सर उपचारमा अस्पातालले प्रदान गरिरहेको सेवाका प्रसंशा गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरेकोे थियो भने नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यानसर अस्पतालको लागि अनुदान स्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरेका थिए ।