नाडा अटो शो भोलिदेखि, यी ब्रान्डले प्रदर्शन गर्दैछन् नयाँ कार
काठमाडौँ । सवारी साधन प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ भोलि भाद्र ११ देखि सुरु हुँदै छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको छ । ६ दिनसम्म चल्ने मेलाका लागि २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गर्ने तयारी भएको हो ।
अध्यक्ष करण चौधरीका अनुसार अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।
नाडा अटो शोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत सहभागी जनाउने भएको छ । बैंकले सवारी खरिद गर्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेको हो ।
यस पटकको प्रदर्शनीमा विश्व स्तरीय ब्राण्डका गाडीहरू आउने अपेक्षा गरिएको छ । यसका साथै विद्युतीय सवारी साधनको प्रदर्शनीले ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।
कुन ब्रान्डले के ल्याउँदैछन् ?
बीवाईडी
विश्व प्रसिद्ध ईभी ब्राण्ड बीवाईडीले नाडा अटो शोमा नयाँ मोडल पनि सार्वजनिक गर्ने भएको छ । नाडा अटो शोमा बीवाईडी नयाँ विशेष मोडल आउने तयारी गरिएको कम्पनीले जानकारी दिएको हो । कम्पनीले सार्वजनिक हुने भएको गाडीको नाम एवं अन्य विवरण भने खुलाएको छैन । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक रहेको छ ।
सीजी
अवतार ; सीजीले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड अवतार (एभटर) सार्वजनिक गर्ने भएको छ । यो गाडी चौधरी ग्रुप र एमएडब्लु ग्रुपको जोइन्ट भेन्चरमा ल्याउने भएका हुन् । चिनियाँ अटो निर्माता चांगन, ईभी ब्याट्री निर्माता सीएटीएल र टेक्नोलोजी कम्पनी हुवावेको संयुक्त उत्पादन अवतार कम्पनीले नेपाल भित्र्याइसकेको छ । यसको मूल्य करिब १ करोड ५० लाख रुपैयाँसम्म पर्नेछ । ९० किलोवाटआवरको ब्याट्री रहेको यो प्रिमियम ईभी गाडीको मोटर पावर २३० किलोवाट छ । यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच१३ मा देख्न सकिन्छ ।
नेटा एक्स : सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल नेटा एक्स पनि अटो सोमा सार्वजनिक गर्ने भएको छ । ५२ किलोवाटआवर र ६२ किलोवाटआवरका दुई ब्याट्री भेरियन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ । नेटा एक्सका दुई भेरियन्टको मूल्य ५३ लाख र ६३ लाख रुपैयाँ छ ।
रिडारा : सीजीले नयाँ मिडसाइज पिकअप रिड्डारा पनि नाडा अटो शो मा सार्वजनिक गर्दै छ । यो ब्रान्ड चौधरी ग्रुप अन्तर्गट सिजी माटर्सले ल्याउन लागेको हो । यसको मोटर क्षमता २०० किलोवाट छ भने ६३ किलोवाटआवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा ३८३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर ए९ मा देख्न सकिन्छ ।
टाटा
नाडा अटो सोमा टाटा मोटर्सले नयाँ विद्युतीय गाडी पञ्च.ईभी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नाडा अटो शो’ २०२४ मा प्रिमियम प्रोडक्टका रूपमा टाटा पञ्च डट ईभी सार्वजनिक गर्ने भएको हो । ३५ किलोवाटआवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभी दुई भेरियन्टमा उपलब्ध हुने भएको छ । गाडीले ४२१ किलोमिटर रेन्ज दिने बताइएको छ ।
एमएडब्ल्यू
दिपल एल०७ : नाडा अटो सोमा चांगन नेपालको दिपल ब्रान्डको नयाँ मोडल दिपल एल०७ सार्वजनिक हुने भएको छ । कम्पनीले प्रिमियम सेडान भनेको गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ । दिपल एल०७ मा ६२६.८ किलोवाटआवरको ब्याट्री छ भने यसको मोटर पावर ९९ किलोवाट छ । गाडीले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
नामी बक्स : एमएडब्ल्यूले डङफेङ ब्रान्डको नामी बक्स ईभी पनि सार्वजनिक गर्ने भएको छ । नाडा अटो शोमै यो नयाँ विद्युतीय कार सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यसको मूल्य करिब ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर ए ७ मा देख्न सकिन्छ ।
पायोनियर मोटोकर्प
पायोनियर मोटोकर्पले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड जिकर सार्वजनिक गर्ने बताएको छ । अटो सोमा जिकर एक्सका दुई भेरियन्ट सार्वजनिक हुने भएका छन् । जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्ल्यूडी) र सिंगल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) भेरियन्ट छ । ६६ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ४४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच १५ मा देख्न सकिन्छ ।
सांग्रिला मोटर्स
नाडालाई नै लक्षित गर्दै सांग्रिला मोटर्सले नयाँ ईभी ब्रान्ड लिपमोटर सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार लिपमोटरको टी ०३ र सी १० मोडल नाडा अटो सोमा सार्वजनिक हुनेछ । यो जीप जस्तो गाडी उत्पादन गरिरहेको स्टेलान्टिसको स्वामित्वमा रहेको स्टार्टअप कम्पनी हो ।
पारामाउन्ट
एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजीको नयाँ ईभी मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले इलेक्ट्रिक स्पोर्टकार भनेको यो गाडी नाडा अटो सोमा सार्वजनिक हुने भएको हो । कम्पनीले सो गाडीको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटर पावर छ । यस्तै, यसमा ७७ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध रहेको र ब्याट्री सिंगल चार्जमा ५०७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
जी मोटर्स
जी मोटर्सले स्काइवेलको ई११ ईभी नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो गाडी ४१० किलोमिटर रेन्ज र ५२० किलोमिटर रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध हुने बताएको छ । कम रेन्जमा ५८ किलोवाटआवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ । १५० किलोवाट मोटर पावरके रहेको गाडीको मूल्य र थप विवरण नाडा अटो शो मै सार्वजनिक हुने जी मोटर्सले जानकारी दिएको छ ।
भित्रिए ३८० वटा इभि
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनमा ३ सय ८० वटा विद्युतीय सवारी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार एक महिनामा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८० वटा विद्युतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका हुन् ।
सुरुवाती महिनामा ३८० वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । जसबाट राज्यले कूल ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्लो महिना भित्रिएको सबैजसो गाडी नाडा लक्षित रहेको बुझिएको छ । यस्तै, गत आर्थिक बर्ष २०८०/८१ मा ऐतिहासिक १३ हजार बढी विद्युतीय गाडी आयात भएको थियो ।