नेपाल अन्तरिक्ष युगमा प्रवेश ː प्रधानमन्त्री ओली | भू–उपग्रह, ‘स्याट–१’ सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको छ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण भएको छ । अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट स्याटेलाइट प्रक्षेपण गरिएको हो । प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो ।
नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् ।
स्याटेलाइट जापानको क्युसु विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठ निर्माण गरेका हुन् । प्रक्षेपित स्याटेलाइटमा नेपाली राष्ट्रिय झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगोसहित प्रक्षेपण गरिएको छ ।
बिहीबार बिहान २ː३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यसको तौल झण्डै एक किलो छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ ।