बाढी, पहिरोलगायतका विपदमा परी १९३ को मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी हिजो मंगलबारसम्ममा १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १ सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २ सय ४१ जना घाइते भएका छन् ।
बाढी, पहिरोका कारण काठमाडौं उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चििम प्रदेशमा ५ गरी १ सय १४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।
उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा २, मधेस प्रदेशमा १, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४९ जना बेपत्ता भएका छन् ।
बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले ३ सय ३३ वटा घर, १ सय १६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
विपदमा परी ८ सय ७० वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय ४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए ।
रासस