भदौमा घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरू ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भदौमा मुद्दति निक्षेपमा औसत ०.२५ प्रतिशत ब्याज घटाएका हुन् । सार्वजनिक तथ्याङ्क अनुसार भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ ५.३१ प्रतिशतमा झरेको छ ।
यसअघि साउनमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ६.६७ प्रतिशत थियो भने संस्थागततर्फ ५.४३ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौमा औसत व्यत्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.४६ प्रतिशत घटेको हो ।
भदौमा विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् भने विभिन्न ५ बैंकको ब्याजदर स्थिर रहेको छ । कुमारी बैंक र प्राइम बैंकले भने भदौमा ब्याजदर बढाएका छन् । भदौमा एनआईसी एशिया र एनएमबि बैंकको ब्याजदर सबैभन्दा धेरै रहेको छ । यी बैंकले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका हुन् । सबैभन्दा कम ब्याज भने नेपाल बैंकको ५.२५ प्रतिशत रहेको छ ।