भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग छिचोलियो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टीबीएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टीबीएम) भेरी किनारमा निकालेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ छिचोलिएपछि सम्बोधन गर्दै पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए । भौगोलिक बनावटले निकै चुनौती रहेको यस आयोजनाको काम समयसीमा भन्दा अगावै सकिएको भन्दै खुशी व्यक्त गरे । यस प्रविधिबाट नेपालमा भित्रिएसँगै अब प्रयोग गर्दै जाने र लाभ पनि लिँदै जाने उल्लेख गरे । आयोजनाको सुरुङ सकिए लगत्तै प्रधानमन्त्री ओलीले बाँकी अन्य कामलाई गति दिन आग्रह गरेका छन् ।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टीबीएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचाल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।
‘‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए ।