सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह बनेर तयार, चीनको सवा अर्ब खर्च |
काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा निर्माण थालिएको सुख्खा बन्दरगाह बनेर तयार भएको छ । उत्तरी नाका तातोपानीलाई लक्षित गरेर सो बन्दरगाह बनाइएको हो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह तयार भएको हो । सामान्य फिनिसिङका काम बाहेक संरचना सबै तयार भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, वाणिज्य मन्त्रालयक प्रतिनिधी, भन्सार विभागका महानिर्देशक, समितिका प्रतिनिधीले ड्राईपोर्टको निरीक्षण गरिसकेका छन् ।
ड्राईपोर्ट तयार भएपनि नेपाल सरकारलाई औपचारिक रुपमा मे महिनामा हस्तान्तरण हुने छ । फर्निचर, नेटवर्किङ, विद्युतको व्यवस्था भए पोर्ट संचालन गर्न सकिने समितिका अधिकारीहरुको भनाई छ । आगामी मे १ मा तातोपानी नाका खोल्ने योजनाका साथ धमाधम अहिले मितेरी पुल र सडक निर्माणको काम भैरहेको छ ।
करिव ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईवटा भवन रहेका छन् । जुन दुई∕दुई तलाका छन् । एउटा मुख्य प्रशासनिक भवनको रुपमा प्रयोग हुने छ भने अर्को क्वार्टरका लागि प्रयोग हुने छ ।
प्रशासनिक भवनमा अध्यागमन, बैंक, भन्सार लगायतका कार्यालयहरु रहनेछन् । नाका संचालनमा आएपछि तातोपानी भन्सार कार्यालयबाट हुँदै आएको काम यहिँबाट हुने छ । बन्दरगाहका लागि आवश्यक पर्ने गोदामघर, क्वारेनटाईन, जाँचपास र्याड लगायतका सबै खालका संरचना निर्माण गरिएको समितिले जनाएको छ ।
आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरु बनाईएको छ । करिव १ सय ६० ठूला र ३० वटा साना गाडी एकैपठक जाँच गर्न सकिन्छ । सय टनसम्म सामान वोकेको गाडी एकैपटक तौलिन सक्ने मेसिन समेत राख्न लागिएको छ ।
द्धिपक्षीय सम्झौता भएर २०६९ सालबाट निर्माण शुरु गरिएको थियो । बन्दरगाह निर्माण गरिएका संरचनाले एउटा आकार लिईसकेको थियो । ८० प्रति निर्माण सकिएको बन्दरगाहमा २०७२ साल बैशाख १२ मा आएको विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो । त्यसपछि बन्दरगाहको काम पुर्ण रुपमा रोकिएको थियो ।
गत जेठमा पुन द्धिपक्षीय सम्झौता भएर बन्दरगाह निर्माण थालिएको हो । चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी (सीआरसीसी) ले निर्माणको काम गरिरहेको छ । चीन सरकारको १ अर्ब २० करोड रुपैया लागतमा तयार पारिएको हो ।
बन्दरगाह नेपाल–चीन जोड्ने मितेरी पुलदेखि ६ किलोमिटरमा निर्माण गरिएको छ । यो भोटेकोसी गाउँपालिकाको लार्चा भन्ने ठाउँमा पर्छ ।