क्रिकेट रङ्गशाला निर्माण गर्न दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने |

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।
चितवन समाजको संयोजन तथा दुबईस्थित विभिन्न संघसंस्थाहरुको आयोजनामा वैशाख १३ (अप्रिल २६ तारिख) गते कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए ।
ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको उपस्थिति रहने छ ।
धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् ।