श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने: मन्त्री खड्गी

राणाकालीन विद्यालयको दर्दनाक अवस्था
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताएका छन् ।
विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको देख्दा आफूलाई ज्यादै दुःख लागेको बताए ।
उनले भूकम्प देखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिएका थिए ।
यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताएका थिए ।
विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएका कारण पुरातत्त्व र स्थानीय निकायको चेपुवामा पर्दा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूले बताएका थिए ।
विद्यालय अनुगमन पस्चात मन्त्री खड्गीले विद्यालय निर्माणका लागि प्रदेशबाट सक्दो पहल गर्ने बताउनुभएको थियो । उहाँले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताएका थिए । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिएका छन् ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उहाँले विद्यालयहरूलाई निर्देशन दिएका थिए । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरूको भविष्य प्रति गम्भीर भएर अघि बढेको उनको भनाई छ ।
अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जानकारी दिएका थिए ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
राणाकालीन विद्यालयको दर्दनाक अवस्था
भक्तपुरमा रणकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो । श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए। प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो स्कुल थियो।
विसं २००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो।
यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए। त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
राणा काल देखि विभिन्न समस्या झेल्दै भक्तपुरको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै आएको उक्त विद्यालय हाल टहरामा अध्यापन गराउन बाध्य भएको छ । भक्तपुर नगरपालिकाको उपेक्षाका कारण उक्त विद्यालय हाल दहनिय अवस्थामा पुगेको हो । शिक्षाको क्षेत्रमा आफूले ठुलो काम गरेको भन्दै हिँड्ने नेपाल मजदुर किसान पार्टीको १०० प्रतिशत जनप्रतिनिधि भएको उक्त नगरपालिकाको उपेक्षामा श्री पद्म र २००४ सालमा स्थापना भएको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको अवस्था दयनीय भएको हो ।
संसद्मा शिक्षा क्षेत्रमा आफूहरूले गरेको योगदानको ठुलो चर्चा गर्ने प्रेम सुवालको घर भन्दा १०० मिटरको दुरीमा रहेका यी दुई विद्यालयलाई भने पुन निर्माण सम्म गर्न नदिँदा विद्यार्थी पुरानो र जोखिम पूर्ण भवनमा नै अध्ययन गर्न बाध्य हुँदै आएका छन् ।
आफ्नो विश्व विद्यालय माग गर्दै प्रतिनिधिसभा र प्रदेश सभाका संसद्मा चर्का भाषण गर्ने नेपाल मजदुर किसान पार्टीका नेताहरूले स्थानीय तह देखि नै भक्तपुरका पहिला विद्यालयका रूपमा रहेका यी विद्यालयको अस्तित्व भने मेटाउन लागी परेका छन् ।
भक्तपुर नगरपालिकाले दुवै विद्यालयको नक्सा पास सम्म नगर्ने विद्यालयको भौतिक अवस्थाको विषयमा चासो नदिने र कसैले भवन बनाई दिने भनी पैसा दिए पनि भवन बनाउन नदिने जस्ता कार्य गर्दै आएको छ । तर ख्वप कलेज र विद्यालय निर्माणका लागि भने प्रदेश देखि स्थानीय तह सम्मको ढोका ढकढकाउँदै रकम ल्याउन गरेका छन् ।