भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
यो उनको पहिलो नेपाल भ्रमण हो । उनी गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए । विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भुटान गरेका थिए ।
गत असार ३० गते कांग्रेस-एमालेको गठबन्धनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपालमा भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा मिश्रीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् कार्यक्रम तय भएको छ ।
परराष्ट्र सचिव लम्सालसँग उनको द्विपक्षीय वार्ता तय भएको छ । मिश्रीको नेपाल भ्रमणका क्रममा द्विदेशीय सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश सचिव मिश्री सोमबार स्वदेश फर्कनेछन् ।