नागरिक लगानी कोषको नाफा ९.९१ प्रतिशतले घट्यो
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत कम हो । अघिल्लो वर्ष कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । खर्च र करको रकम बढ्दा नाफामा दबाब परेको हो ।
यसको खुद ब्याज आम्दानी भने १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख पुगेको छ । चक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडामा १८ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ । यता, प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने १७१.४५ रुपैयाँ छ ।