महिला भलिबल टिमलाई काठमाडौं महानगरको नगदसहित सम्मान
काठमाडौं । काठमाडौं महानगरले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।
उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नु पर्ने खाँचो रहेको बताए ।
त्यस अवसरमा खेलाडीलाई जनही एक लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मान प्राप्त गर्ने खेलाडीमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन् ।
त्यस्तै खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्रबहादुर कुँवर रहेका छन् ।
सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।