सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेका छ ː प्रधानमन्त्री ओली |
काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् । सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको समेत उनले दाबी गरे ।
घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको छ, प्रधानमन्त्री ओलीले भने, ‘घरजग्गा कारोवार होस् वा संगठित तस्करी, भन्सार र अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छितरअनुचित कामको छानबिन जारी छ । जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन ।’
उनले भ्रष्टाचारविरुद्धको यो लडाइँ चुनौतिपूर्ण रहेको पनि बताए । यद्यपि जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने उनले प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्व छु ।’
हरेक दिन सामान्यतː विहान ६ बजेदेखि राति १२ बजेसम्म आफू सक्रिय रहेको जानकारी पनि उनले दिए । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा ३१४ वटा विभिन्न कार्यक्रममा आफू सहभागि भएको र कुनै न कुनै रुपमा जनतासँग सम्वाद जारी राखेको ओलीले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् । समयको गति समाउन मैले पनि आफूलाई, यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु । प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफूलाई, हरेक दिन सामान्यतː विहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु ।’