नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशत बढ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधमिा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।