मौद्रिक नीतिले आशा, भरोसा र विश्वास जगाएको छ: सीबीफीन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित र समयसापेक्ष रहेको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले रष्ट्र बैंकले २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीति सन्तुलित र समय सापेक्ष आएको जनाएको हो ।
समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँने नीति चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएको सीबीफीनले जनाएको छ । ‘आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि अपेक्षाकृतरुपमा सहजीकरणको प्रयास गर्ने गरी आएको मौद्रिक नीतिले आशा, भरोसा र विश्वास जगाएको छ’ विज्ञप्तिमा भनिएको छ ।
मौद्रिक नीतिमार्फतसंस्थाको पुँजी कोषमा भएको दबाब सम्बोधन गर्न क्यापिटल एडवेक्वेसी फ्रेमवोर्कमा पुनरावलोकन, असल कर्जाको नोक्सानी व्यवस्थामा कमी, रेगुलेटोरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान गरिनु सकारात्मक भएको जनाएको छ । ‘पुँजी कोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सह्रानीय कदम रहेका छन्,’ सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नीतिगत दर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियो सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकता सहितको राहत दिनु, संस्थागत सेयर धितो कर्जाको सीमा हटाइनुले.सकारात्मक सन्देश प्रवाह भएको सिबिफिनले जनाएको हो ।
‘कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु, चालु पूँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवम् मझौला उद्यमका लागि तोकिएको सीमा पुनरावलोकन गर्ने व्यवस्था भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्त्वपूर्ण सहयोग पुग्नेमा आशावादी छौं ।’
लघुवित्त संस्थालाई सुदृढीकरण गरिने, बचत तथा ऋण सहकारी संस्था नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लिइने पहलले समग्र वित्तीय प्रणाली माथिको विश्वासमा अभिवृद्धि गर्ने सीबीफीनको भनाइ छ । ‘सम्पत्ति व्यवस्थापन ऐनका लागि लिइने पहल र वित्तीय संस्थामा बढ्दो डिजिटल प्रविधि प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता अध्ययन गर्न पहल गरिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय भुक्तानी स्विच पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने व्यवस्थाले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सीबीफीनले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साह भर्दै शिथिल अवस्थामा रहेका आर्थिक गतिविधि र अर्थतन्त्र चलायमान बनाउने गरीे मौद्रिक नीति आएकाले प्रभावकारी कार्यान्वयन अबको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।