सबैको लघुवित्तले ५ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने |
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्ने भएको हो ।
लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपीओ विक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।
सबैको लघुवित्तले आईपीओ विक्रीका लागि एनआईबीएल एस क्यापिटलाई विक्री प्रबन्धक नियुक्त गरेको छ । तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले दोस्रो वार्षिक साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
२०७४ असार ३० गतेबाट आर्थिक कारोबार शुरु गरेको यस संस्थाले गत पुस मसान्तसम्म ३३ शाखाहरु मार्फत २४ करोड ६९ लाख निक्षेप ८८ करोड ३० लाख सापटीबाट एक अर्ब १४ करोड ४७ लाख कर्जा लगानी गरेको छ ।
लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनी ५२ लाख ५५ हजार नोक्सानीमा रहेको थियो ।