उद्योगी दिवाकर गोल्छाको निधन, आज पसुपतिमा अन्त्येष्टी गरिने |
काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उपचारका क्रममा भारतमा गोल्छाको निधन भएको हो । मृगौलाका रोगी गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । मृगौला प्रत्यारोपण गरेको २ सातामा मंगलबार राती गोल्छाको निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव आज विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ ।
गोल्छा अर्गनाइजेसनलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका दिवाकर उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत भईसकेका छन् । दिवाकर उद्योग वाणिज्य महासंघका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन् ।
दिवाकरले हुलास ब्राण्डका जस्तापाता तथा वायरका साथै खाद्यान्न र चिनी मिल सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनको अग्रसरतामा २४ वटा उद्योग स्थापना भएका थिए । हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो ।
दिवाकर गोल्छा अर्गनाइजेशनका संस्थापक रामलाल गोल्छाका नाती हुन् । रामलालका २ छोराहरु हुलासचन्द्र र हंसराज थिए । दिवाकर हंसराजका छोरा हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दिवाकर नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका थिए ।