सेवाग्राहीले खोजेको बेलामा, रोजेको सेवाको अवस्था बुझ्न काठमाडौँ महानगरपालिकाले थाल्यो, सेवाग्राही सर्वेक्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) मा सेवाग्राही सर्वेक्षण थालनी गरेको छ । गएको बर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भर्नुभएको छ ।
सर्वेक्षण सुरु गर्नुअघि सर्वेक्षणको विवरण तथा तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, सर्वेक्षणमा खटिने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए ।
सर्वेक्षणका सैद्धान्तिक र व्यवहारिक पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नु पर्ने व्यवहार, सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही () चिन्ह लगाउनु पर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भए पनि फोन नम्बर अनिवार्य गरिएको छैन ।
सर्वेक्षणका लागि २ जना इन्टर्नं विद्यार्थी र १ जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुनेलाई ५ वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिन्छ ।
अन्य दिन १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण स्वेच्छिक हो । सेवाग्राहीले इच्छा गरे मात्र भर्न लगाइन्छ । यसमा कसैलाई फाराम भर्न कर लगाइँदैन ।
यसरी भराइएका फारामहरु हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ । पहिलो चरणमा ५ सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ ।