मौद्रिक नीति शुक्रबार ल्याउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गर्ने अन्तिम तयारी गरेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति साउन ४ गते शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार बिहीबार बसेको व्यवस्थापन समितिले मौद्रिक नीतिको मस्यौदामा अन्तिम छलफल गरेको थियो ।
व्यवस्थापनको बैठकले पास गरेको मस्यौदामा शुक्रबार सञ्चालक समितिले पास गरेपछि दिउँसो ४ बजे नयाँ मौद्रिक नीति सार्वजिनक हुने स्रोतले बतायो ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तरविभागीय छलफल तथा बाह्य छलफलहरुबाट आएका सुझाव, इमेल वा अन्य माध्यमबाट आएका सुझावहरुलाई समेत वृहत अध्ययन गरी मौद्रिक नीतिको मस्यौदा फाइनल गरिसकेको छ । यसलाई सम्भवतः बिहीबार बस्ने उच्च व्यवस्थापनको बैठकले आवश्यक परिमार्जनसहित सञ्चालक समितिमा सिफारिस गर्नेछ ।
त्यसपछि शुक्रबार बिहान नै मौद्रिक नीति सञ्चालक समितिमा छलफल हुनेछ र त्यहाँ पनि आवश्यक संसोधन(थपघट) गरी पास भएपछि बल्ल सार्वजनिक गरिनेछ ।
राष्ट्रबैंकले प्रत्येक आर्थिक वर्षको साउन १५ गतेभित्र मौद्रिक नीति ल्याउने गर्दछ । यसपटक पनि साउन १० गते आसपास मौद्रिक नीति आउने केन्द्रीय बैंकका अधिकारीहरुले नै बताएका भए पनि अर्थमन्त्री र गभर्नरबीच चाँडै कुरा मिल्दा साउन ४ गते नै सार्वजनिक हुने अवस्था बनेको हो ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारी एमाले क्याडर हुन् । अर्थमन्त्री पौडेलले कार्यभार सम्हाल्दै गर्दा समेत आफ्नो र गभर्नरको ट्यूनिङ मिल्ने बताएका थिए ।
सरकार निराश बनेका लगानीकर्ता र निजी क्षेत्रलाई सकेसम्म चाँडो उत्साहित बनाउने गरी कुनै न कुनै ठोस काम गर्न चाहन्छ । सरकारको यही रणनीति र खस्किएको मनोबल चाँडै उकास्ने उद्देश्यका कारण लगानी, बजार र निजी क्षेत्रमैत्री मौद्रिक नीति चाँडै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाई छ ।
स्रोतले यसपटकको मौद्रिक नीति निकै लचक आउने र सुस्त बनेको अर्थतन्त्रलाई गति दिने खालको नीतिगत व्यवस्था हुने दाबी समेत गरेको छ ।
पूँजीबजारमा देखिएको उत्साहलाई कायमै राख्ने र यसमा अझ मनोबल थप्ने गरी सेयरधितो कर्जाको क्यापदेखि भारित औसत लगायतका व्यवस्थामा समेत निकै लचक नीति आउन लागेको राष्ट्रबैंकका एक अधिकारीले दाबी गरेका छन् ।
मौद्रिक नीति चाँडै ल्याएर निजी क्षेत्रलाई उत्साहित बनाउने उद्देश्यले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीबीच मंगलबार साँझ करिब दुई घण्टा छलफल भएको थियो । सो क्रममा केही नमिलेका विषय समेत टुंगिएपछि अब मौद्रिक नीति ल्याउन कुनै बाधा नरहेको स्रोत दाबी गर्छ ।