नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोले दुई बस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित करिब ६३ यात्रु रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले यकिन विवरण भने आई नसकेको बताए ।