आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार सुरु
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ ।
धितोपत्र दलालको रूपमा ग्राहकहरूलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेका आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।
सीमित कार्य गर्ने धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ गते स्वीकृति प्राप्त गरेको आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेडको वि.सं. २०८१ माघ ३ गते मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो ।
त्यसैगरी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरूलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गर्नेछ ।
वित्तीय क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको सञ्चालक समितिवाट निर्देशित आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि अग्रणी कम्पनी बन्ने लक्ष्य राखेको छ । दरवारमार्ग, काठमाडौँमा रहको कार्यलयबाट कम्पनीले हाल आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।