एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालको सहकार्यमा काठमाण्डौका २ विद्यालयबाट बाबा परियोजना सुरु
काठमाडौं । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाण्डौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ । काठमाण्डौ महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।
काठमाण्डौ महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।
परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनःप्रयोग, अपसाइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविधविषयहरुको ज्ञान प्रदान गरिनेछ । उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उदेश्य हो ।
कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक,नविन विकास महर्जनले बाबा परियोजना बारे जानकारी दिए । परियोजनाकी संयोजक, समिक्षा भट्टराईले कार्यक्रमको उदेश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा चर्चा गरिन् ।
यो परियोजनालाई कामनपा–२२ मा रहेको हिमालय मावि र कामनपा–१२ मा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।