पाइपलाइन विस्तारको काम अन्तिम चरणमा, असारसम्ममा सक्ने लक्ष्य, वार्षिक भाडाबाट मात्रै २ अर्ब बचत |
बारा । इन्डियन आयल कर्पोरेसन (आईओसी) को दुई अर्ब भारुभन्दा बढी लागतमा निर्माण भइरहेको पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजना पनि हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष चासो देखाएको यो आयोजनाको प्रगति पनि निकै राम्रो रहेको छ ।
अहिले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ ।
हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ । भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ ।
निकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ । माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्ने निर्णय गरे पछि त्यसको डेढ महिनापछि काम पुनː शुरु भएको हो । अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ ।
६ हजार ५ सय ६३ रुख काटिँदै छन् । जंगलको ९ किमिमध्ये २ किमि क्षेत्रमा पाइप विस्तार गरी सकिएको छ । काटिएका रुख व्यवस्थापन गर्दै पाइप विस्तार गर्ने काम जारी राखिएको छ । जति रुख काटिन्छन्, त्यति नै संख्यामा हुर्काउन आयल निगमलाई १ करोड ९५ लाख रुपैयाँ दिन लागिएको छ । पाइपलाइन विस्तार गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नियुक्त भएलगत्तै निकुञ्जको समस्या टुंग्याएका थिए ।