जलविद्युत विकास कम्पनीको हावाहुरी प्रभावितलाई ४ लाख सहयोग |
काठमाडौं । सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि चार लाख राहत उपलब्ध गराएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगानालाई सो राहत रकम हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री राहत कोषमार्फत बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि ४ लाख राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको सो रकम बारा र पर्साको हावाहुरी प्रभावितलाई राहत दिने निर्णय गरेको थियो ।
हालसम्म ३ अर्ब ९ करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई १ अर्ब ६५ करोड कर बुझाइसकेको छ ।