९ दिनमा ११३ टन धुलो संकलन |
काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमरबाट सडक सफा गर्न थालेयता १ सय १३ टन धुलो संकलन भएको छ । चैत १२ गतेबाट ब्रुमर प्रयोग गरेर सडक सफा गरिरहेको महानगरपालिकाले हालसम्म २ सय २५ घनमिटर धुलो संकलन गरी विसर्जन गरेको हो ।
हाल पाँच वटा ब्रुमरले मुख्य पाँच रुटमा राती ९ बजेपछि दैनिक ८ घण्टा सफाइ गर्दै आएका छन् । पाँच वटा ब्रुमरले दैनिक १८ देखि २० टन धुलो संकलन गर्ने गरेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग अन्तर्गतको कार्यसञ्चालन शाखाका प्रमुख मीनबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार हालसम्म ब्रुमर नचलेका र भौतिक निर्माण भइरहेका क्षेत्रमा जाँदा बढी धुलो संकलन हुने गरेको छ । भौतिक पूर्वाधार निर्माणको कामले धुलाम्य बनेको काठमाडौंलाई स्वच्छ बनाउन महानगरपालकिाले धुलो टिप्ने ब्रुमर प्रयोग गरिरहेको छ ।
रत्नपार्क, शहिदगेट, तिनकुन, कोटेश्वर, कोटेश्वर, जडिबुटी, बालकुमारी पुल, सोह्रखुट्टे लगायतका क्षेत्रमा बढी धुलो संकलन हुने गरेको शाखा प्रमुख थापाले बताए ।
‘अहिलेसम्म ब्रुमर नचलेको ठाउँमा धुलो धेरै हुने नै भयो ,अब नियमित धुलो सोहोर्ने काम भइरहेकाले त्यो घट्दै जान्छ’, उनले भने ।