लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्यु, ४ घाइते |
काठमाडौं । लाजिम्पाटस्थित एक घरमा आगो लाग्दा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । प्रहरीका अनुसार लाजिम्पाटको सरस्वती मार्गस्थित धर्म महर्जनको तीन तल्ले घरमा आगालागी हुँदा भाडामा बस्ने ओखलढुङ्गा पोखरी गाउँपालिकाका–२ का ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार मृतक थापा शंकर होटेलमा सुरक्षा गार्डको ंरूपमा कार्यरत थिए । उनी १५ दिनअघि मात्र उक्त घरको कोठा भाडामा लिएर बसेका थिए । घाइतेमध्ये चन्द्रमाया राई र विना बस्नेत सामान्य उपचारपछि घर फर्किसकेका छन् । अन्य दुई जना विवेक शाही र उनकी श्रीमती गंगामाया शाहीको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगजनी भएको देखिएको प्रहरीले बताएको छ ।